समाचार

अविरल वर्षापछिको बाढी पहिरोले जनधनको क्षति, पूर्वपश्चिम राजमार्ग अझै खुलेन



काठमाडौँ – पछिल्लो दुई दिनमा पहिरोका घटनामा परेर ६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोमबार साँझसम्मको तथ्याङ्कअनुसार पहिरोमा परेर दार्चुलामा ३ जना तथा स्याङजा, सुर्खेत, काभ्रेपलाञ्चोकमा एक–एक जना गरेर ६ जनाको मृत्यु भएको हो ।

यो अवधिमा स्याङजामा ३, काभ्रेपलाञ्चोकमा एक, दार्चुलामा एक, म्याग्दीमा तीन जना घाइते भएका छन् ।

उता महेन्द्रराजमार्ग अन्तर्गत बर्दघाट दुम्किबास खण्डको बीचमा पर्ने दाउन्ने पहाडमा ठाउँठाउँमा पहिरो जाँदा पूर्व–पश्चिम महेन्द्रराजमार्ग अवरुद्ध भएको छ । टवलमा सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन ।

उता महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न बनवासा पुलमा रोक लगाइएको छ ।

पूर्वी नवलपरासीको गैंडाकोटमा बाढिले बगाएको डाइभर्सन पुनः निर्माण नहुदा पूर्वपश्चिम राजमार्ग अझै संचालन हुन सकेको छैन् । डाइभर्सन निर्माणको काम समपन्न नहुदा यात्रुहरुले सास्ती बेहोर्दै आएका छन् । निरन्तरको वर्षाका कारण बाढिले महेन्द्र राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुदै आएको छ ।

गैडाकोट नगरपालिका २३ को स्मृति पुल नजिक नारायणगढ बुटवल सडक विस्तारका क्रममा निर्माणधीन पुल छेउमा बनाएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

शनिवार विहान डाइर्भसन बनाएर एकतर्फी रुपमा सडक संचालन गरिए पनि हिलो र दलदलका कारण गाडि फस्ने समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । लामो समय देखि राजमार्ग अवरुद्ध हुदा यात्रुहरु समस्यामा परेका छन् ।