समाचार

बुधबार विहान ६ बजेबाट काठमाडौँ उपत्यकाको फोहोर उठ्ने



काठमाडौँ – काठमाडौँ उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले यस्तो निर्णय गरेको हो । लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेको काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले बताउनुभयो ।

फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको र स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको शाक्यले जानकारी दिनुभयो । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको मात्रै नभई सम्पूर्णको समस्या हो भन्दै त्यसैले सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा शाक्यले बताउनुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको बताउनुभयो ।