राजनीति

एमालेबाट आफूहरुले विद्रोह गरेको खनालको टिप्पणी, ओली सरकार ढल्दा झलनाथ खुसी

कार्यकारी पदको दाबी गर्दिन


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल भारतमा उपचारपछि आज स्वदेश फर्किएका छन् । आउँदा आउँदै त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग बोल्दै खनालले एमाले विभाजन नभई आफूहरुले विद्रोह गरेको टिप्पणी गरेका छन् ।

झलनाथ खनाल उपचारको क्रममा भारतमा रहँदा नेपालमा थुप्रै राजनीतिक उत्तारचढावहरु आए । उनी आवद्ध नेकपा एमाले विभाजन भयो भने भारत जाँदा एमालेका नेता रहेका खनाल स्वदेश फर्कँदा नेकपा एकिकृत समाजवादी पार्टीका नेताको रुपमा परिचय बनेको छ ।

एमाले विभाजन र नयाँ दल दर्ता र सरकार गठनकाबीच पूर्वप्रधानमन्त्री खनालको स्वदेश फिर्ता सबैको चासोको विषय रहयो । त्यसमाथि खनालले विमानथ्लमै पत्रकार सम्मेलन गरी दिएको अभिव्यक्तिले नयाँ तरंग पनि ल्याएको छ । एमाले विभाजनमा एमालेजनले नै अमिलो मानिरहेका बेला खनालले नयाँ पार्टी गठन हुनु एमाले विभाजन नभई विद्रोहको संज्ञा दिएका छन् ।

भारतमा उपचाररत छँदा नेपालमा एमाले विभाजित बनेपछि खनालले एकीकृत समाजवादीका पक्षमा आफूलाई उभ्याएका थिए । उनले भारतबाटै नयाँ पार्टी दर्ता प्रक्रियाको लागि सनाखत गर्न आफ्नो वारेसनामा निर्वाचन आयोगमा पठाएका थिए ।

पत्रकारहरुसंग ओलीको चर्को आलोचना गरेका उनले एमालेको नवौं महाधिवेशनसम्म आफूहरुले विकास गरेको क्रन्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई पुर्नस्थापित गर्न जरुरी भएको बताएका छन् । त्यसका लागि एमालेमै बसेर अन्तर संघर्ष गरेपनि जब्बर भएर बसेको दक्षिणपन्थी अवसरवाद, गुटवाद र व्यक्तिवादले नदिएको उनको दावी छ ।

खनाललाई सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपालसहित बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु स्वागतका लागि विमानस्थल पुगेका थिए । उमेरले ७० वर्ष नाघेकोले कुनै पनि कार्यकारी पदमा दाबी गर्ने खनालको भनाइ छ ।