समाचार

छिमेकी युवतीमाथि वडाध्यक्षको ‘गिद्धे नजर’, बलात्कार प्रयासपछि भए फरार


काठमाडौँ – सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर –७, नोकैल्वाकी ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास भएको छ । सोही वडाका वडाअध्यक्ष श्याम कुमार यादवले स्थानीय महिलालाई बलात्कारको प्रयास गरेका हुन् ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर –७, नोकैल्वाका वडाध्यक्ष श्याम कुमार यादवले एक महिलालाई बलात्कार प्रयास गरेका छन् । यही भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि नरहेको मौका छोपेर घरभित्र प्रवेश गरि एक्लै सुतिरहेको अवस्थामा वडा अध्यक्ष यादवले बलात्कार प्रयास गरेका हुन् । वडाअध्यक्ष यादवको घर आफ्नो घरको छेउमै रहेकोले यसअघि पनि उनले पटकपटक आफूमाथि दुव्र्यवहार गर्ने गरेको पीडित महिलाले गुनासो गरिन ।

त्यस दिन वडाअध्यक्ष घरमा कोही नभएको मौका छोपेर घरभित्र प्रवेश गरि सुतिरहेको अवस्थामा सम्बेदनशिल अंगहरुमा हातपात गरि करणीको प्रयास गरेको पीडित महिलाले बताइन् । आफुलाई बचाउने प्रयास गर्दा नसकेपछि हल्ला गरेर छिमेकीलाई बोलाएपछि पीडक त्यहाबाट भागेको स्थानीय बताउँछन् ।

घटना लगत्तै वडाअध्यक्ष यादव सम्पर्क विहिन रहेको गाउँलेहरुले बताएका छन् । आइतवार दिउँसो पिडित महिलासँगै सदरमुकाम मलंगवा आएका ब्रम्हपुरी गाउँपालिका–७ नौकैल्वाका स्थानीयबासी तथा पिडितका छिमेकीहरुले पिडक वडाअध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन समेत दर्ता गराइसकेका छन् ।

सोही निवेदनको आधारमा पिडक वडाअध्यक्ष यादवलाई पक्राउ गर्न भनि दुईपटक प्रहरीहरु गाउँमा गइसकेको तर उनी गाउँमा नरहेकोले प्रहरीलाई खाली हात फर्कनु परेको पिडितका छिमेकीले बताएका छन् । यता गाउँपालिका अध्यक्ष विनोद शाह भने पीडितलाई न्याय र पीडकलाई कारवाहीको दायरामा ल्याउन प्रयास भैरहेको बताउँछन् ।

उता वडाअध्यक्ष यादवका भाइ जस्विन्दर यादवले भने राजनीतिक निहुँ र गाउँमै भएको पुरानो झगडाको रिसिवीको बदला लिन गाउँकै केही व्यक्तिहरुले बलात्कारको नाउँमा फसाएर बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

पिडित महिलाका २ छोराछोरी छन् । आर्थिक अबस्था कमजोर भएका कारण उनका श्रीमान रोजगारीका लागि विगत दुईवर्षदेखि कुवेतमा छन् । पीडित महिला अरुको घरमा मजदुरी गरेर घर ब्यावहार सम्हाल्दै आएकी छिन् ।