समाचार

काठमाडौंमा थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहोर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री देउवाले सोमबार बिहान प्रधानमन्त्री निवास बालुबाटारमा डाकेर काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई फोहोर उठाउने प्रवन्ध गर्न निर्देशन दिनुभएको हो ।

सिसडोल ओखरपौवाका स्थानीयले बिरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन् ।

स्थानीयको बिरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ ।