राजनीति

चालु आर्थिक वर्षको बजेट सच्याउने सत्तारुढ गठबन्धनको निर्णय, बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ सहमत


काठमाडौँ – गठबन्धन सरकारले चालु आर्थिक वर्षको बजेट सच्याउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सच्चाउने निर्णय गरेको हो ।


आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । बैठकमा मन्त्रिमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको छ । बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलका शीर्ष नेताहरू सहमत भएका हुन् । नेताहरुका अनुसार कांग्रेसले ७, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जसपाले ४–४ वटा मन्त्रालय लिने प्रस्ताव छ । मन्त्रालय तलमाथि पर्न सक्ने नेताहरूले बताएका छन् । दलहरूले महत्वपूर्ण मानिएको मन्त्रालय दाबी गरेका छन् ।

दल विभाजनसम्बन्धि अध्यादेश फिर्ता लिएरु मन्त्रिपरिषद विस्तार गर्दा सहज हुने मत पनि गठबन्धनमा छ । अध्यादेशअनुसार एमाले र जसपाका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउँछन् । त्यसपछि अध्यादेश फिर्ता लिने र मन्त्रिपरिषद विस्तार गर्दा सहज हुने तर्क नेकपा एकीकृत समाजवादी र जसपाको रहेको छ । उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्नेमा पनि गठबन्धनमा सहमति भइसकेको छैन् ।