राजनीति

सरकारले भोलिसम्म पूर्णता पाउँछ : मीन विश्वकर्मा


काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले भोली बेलुकासम्म सरकारले पूर्णता पाउने बताउनुभएको छ । सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहनु भएका नेता विश्वकर्माले सोमबार (भोली) बेलुकासम्म सरकारले पूर्णता आउने प्रतिक्रिया दिनु भएको हो ।

आईतबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरुको निर्माण गर्ने दलहरुबीचको सहमति कार्यान्वयन भईसकेकाले अव सरकारलाई पूर्णता दिने काममा ढिलाई गर्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पार्नु भयो । नेता विश्वकर्माले भन्नु भयो, ‘सायद भोली बेलुकासम्म सरकार विस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ ।

ढिलो किन भयो ? भन्ने कुरा चाँही दलहरुबीचको बैधताका कुरा, अस्तित्वका कुरा, दल निर्माणको कुरा र दलहरुबीचको केही सहमतिको कुरा हो । अहिले सहमति पनि भईसकेको छ । दल निर्माण पनि भईसकेको छ । सरकारको पक्षमा स्पष्ट बहुमत पनि जुटिसकेको हुनाले अव ढिलाई हुँदैन ।’

नेता विश्वकर्माले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सरकारका सहभागी हुने आफूले जानकारी पाएको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता कर्ण थापाले आफ्नो पार्टी फुटाउन सघाएको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको र सत्तारुढ दल नेपाली काँग्रेसको चर्को आलोचना गर्नु भयो । उहाँले सभामुखले आफ्नो दलले कारबाही गरिसकेका सांसदहरुलाई बैधता दिएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणमा सघाउ पु¥याएको आरोप लगाउँदै भन्नु भयो, ‘सभामुखले नगर्नुपर्ने काम गरेका छन । त्यसका विरुद्ध आगामी दिनमा संसद चल्न नदिने अवस्था आउन पनि सक्छ ।’

नेता थापाले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको निर्माण अवैधानिक ढंगले भएको जिकीर गर्दै त्यस विरुद्ध आफूहरु सर्वोच्च अदालत जाने चेतावनी समेत दिनु भयो ।