राजनीति

सभापति जित्न मोदीको हिन्दु शैलीमा निधि, देउवालाई कुनै हालतमा नछोड्ने


काठमाडौँ – क्रियाशिल सदस्यताकै विवादको उल्झनमा परेको नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेतृत्वलाई लिएर समेत रस्साकस्सी जारी छ ।एजेन्डासहित कोही सार्वजनिक नभएपनि शुक्रबार उपसभापति बिमलेन्द्र निधि सम्पर्क कार्यालय नै स्थापना गरेर अघि बढेपछि अरुमा समेत दबाव परेको छ ।

केहीदिन अघि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भटेर काँग्रेस उपसभापति विमलेन्द्र निधिले भनेका थिए, ‘सम्पर्क कार्यालय खोल्दैछु, उद्घाटन गर्न आइदिनु प¥यो ।’वालुवाटार पुगेर निधिले गरेको आग्रहलाई सभापति देउवाले आफ्नो समर्थन नभएको भन्दै अस्वीकार गरिदिए । तर निधि रोकिएनन्,देउवाको उपस्थिति बिनै शुक्रबार धुमधामका साथ सम्पर्क कार्यालयको उद्घाटन गरे । नयाँ बानेश्वरमा खोलिएको सम्पर्क कार्यालयमा निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै शैली अपनाएका छन् ।जानकी मन्दिरका महन्थ तपेश्वर महाराजदेखि पशुपतिनाथ मन्दिरका पुजारी प्रतिनिधि (भण्डारी)सम्मलाई बोलाएर निधिले कार्यालय उद्घाटन मात्रै गरेनन्, सभापतिको उम्मेद्वारी पनि घोषणा गरे ।धुमधामको धार्मिक शैली अपनाएर निधिले गरेको उम्म्ेदवारी घोषणालाई कतिपयले हिन्दु जनमतलाई आकर्षित गर्न र भारतको सत्तारुढ दल भाजपालाई रिझाउन निकै मेहनत गरेको अर्थमा बुझिरहेका छन् ।किनकि तीन दिनअघि मात्रै निधिले भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग काठमाडौंमा भेट गरेका थिए।शुक्रबार निधिले कार्यालय उद्घाटन गर्दै आफु काँग्रेसलाई आगामी निर्वाचनमा जिताउन सभापति नभइनहुने दाबी गरे ।

आसन्न चौधौं महाधिवेशनमा संस्थापन पक्षमै रहेपनि निधिले सभापति देउवाविरुद्ध उम्मेद्वारी घोषणा गरेपछि अब उनीहरुबीचको सहकार्य टुटेको छ ।निधिको अडानलाई देउवातिरका नेताहरुले भने ‘घुर्की’ र ‘बार्गेनिङ’ को रूपमा अथ्र्याउँदै आएका थिए । महाधिवेशनको मुखतिर दुई नेता मिल्ने विश्वास पनि थियो । तर १३ औं महाधिवेशनबाटै देउवाले आवश्वान दिएकाले अब नछोड्ने निधिले तय नै गरेका छन् ।

सभापति देउवाले फेरि उम्मेद्वारी घोषणा गरेको र संस्थापनइतर पक्षमा समेत सभापतिका आकंक्षी धेरै भएकाले निधिलाई थुप्रै चुनौति छन् । तर पछिल्लो तामझामले भने उनी हिन्दुराष्ट्रको पक्षमा उभिएर चुनाव जित्न खोजेको स्पष्ट हुन्छ। यसअघि हिन्दुराष्ट्रको वकालत गर्दै आएका महामन्त्री शशांक कोइरालासमेत सभापतिको बलियो उम्मेद्वार हुन् । तर संस्थापनइतर पक्षबाटै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका धेरै नेता आकंक्षी भएकाले चुनाव जित्न सहज छैन । यी नेताहरुले धर्मको विषयलाई उठाएर चुनाव जित्ने सम्भावना आँकिरहेका बेला सभापतिकै अन्य आकंक्षीहरुले भने धर्मको नाराले चुनाव जित्न नसकिने दाबी गर्छन ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबारमात्रै मोटामोटी सहमति गरेर क्रियाशिल सदस्यताको विवादलाई मत्थर बनाउन काम गरेका छन् । तर महाधिवेशनमा नेतृत्वलाईलिएरलाई थप सरगर्मी चढेको छ । अब सभापति देउवाबाट नेतृत्व खोस्ने चाहनेहरु बढेका छन् तर आकंक्षी धेरै हुँदा देउवालाई राहत पनि छ ।

नेपाली काँग्रेसमा सभापतिका आकंक्षीमात्रै करिब १० जना पुगेका छन् ।औपचारिक अनौपचारिक छलफलमा नेतृत्वका लागि अघि बढेपनि एजेन्डासहित सार्वजनिक हुनेहरु छैनन् । तर अब धार्मीक मलजलकै आधारमा चुनाव जित्ने विश्वाससहित निधि बाहिरीएपछि अन्यमा समेत त्यसले दबाब श्रीजना गरेको छ ।