राजनीति

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : कानुनमन्त्री कार्की


काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पारेका हुन् । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिनुभयो ।

समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने प्रष्ट पार्नुभएका उनले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो ।

एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली काँग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिनुभयो । एमसीसी एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी छ भन्दै उनले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताउनुभयो । मन्त्री कार्की सुनसरीको रामधुनी नगरपालिकाको कार्यक्रमका लागि यहाँ आइपुगेका हुन् ।