राजनीति

सत्ता जोगाउन पार्टी परिवर्तन गर्दिन : अष्टलक्ष्मी शाक्य



काठमाडौँ – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ता जोगाउनका लागि पार्टी परिवर्तन नगर्ने बताउनु भएको छ।

आज हेटौंडामा एक कार्यक्रमबिच एमाले उपाध्यक्ष र वाग्मती प्रदेश इन्चार्ज समेत रहेकी शाक्यले सरकार जोगाउनकै लागि नेकपा एमाले पार्टी परिवर्तन गरेर अन्य पार्टीमा नजाने बताउनुभएको हो।

नेकपा एमाले पार्टी विभाजनले आधिकारिकता पाएलगत्तै शाक्य सरकार अल्पमतमा परेको छ। एमाले विवाद चुलिएर औपचारिक रूपमा दुई दलमा विभाजन भएकै दिन शाक्य प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो।

बहुमत प्राप्त संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले सामान्य अवस्थामा विश्वासको मत लिन नपर्ने भएपनि सत्तारुढ दल एमाले विभाजन भएकाले अब भने शाक्यले विश्वासको मत लिनु पर्ने भएको छ।

विश्वासको मत पाए शाक्य नेतृत्वको सरकारले निरन्तरता पाउनेछ भने मत पाउन नसके नयाँ सरकार गठनको बाटो खुल्नेछ ।