राजनीति

अन्तिम समय आइसक्दा काँग्रेसमा विवाद झनै बढ्यो,महाधिवेशन नहुने संकेत


काठमाडौँ – जतिजति महाधिवेशनको मिति नजिकिदै छ, त्यतिनै काँग्रेसको १४ औं महाधिवेशन अन्योलपूर्ण बन्दै गएको छ । नेताहरु विभिन्न विवाद उठाएर आरोप प्रत्यारोपमा छन् भनेकार्यकर्ता अनशनमा छन् । छैटौंपटकको संसोधनपछि सार्वजनिक गरिएको कार्यतालिका अनुसार नेपाली काँग्रेसको १४ औं महाधिवेशनको वडा अघिवेशन आउन अब मात्र एक साता जतिको समय बाँकी छ । तर भदौं १८ मा वडा अधिवेशन गर्नु पर्ने नेता कार्यकर्ताहरु धर्ना र प्रदर्शनतिर केन्द्रीत बन्दा फेरि पनि समयमै अधिवेशन नहुनेतर्फ काँग्रेस अघि बढेको छ ।

क्रियाशिल सदस्यताको विवाद टुङग्याएको दुईदिनमै जिल्ला सभापतिहरु अनशनमा बसेका छन् । समितिले बुझाएको प्रतिवेदनमा केन्द्रबाटै नेतृत्वले सदस्यता थपघट गर्ने काम गरेको भन्दै नेता कार्यकर्ता अनशनमा उत्रिएका हुन् ।जसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समेत समर्थन जनाएको छ । फलतः जिल्ला र वडा तहको विवाद कायमै राखेर नेतृत्व अघि बढ्न खोजेपछि महाधिवेशन हुनेमा नेताहरुको आश मर्दै गएको छ ।

सोमबार मात्रै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासंयोजक र केन्द्रीय सदस्यद्धय रमेश लेखक र मिनेन्द्र रिजाल आवद्ध कार्यदलले विवाद सल्टाएको भन्दै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।जसमा पौडेल पक्षको तर्फबाट नेता रिजाल कार्यदलको सदस्यबनेका थिए । तरविवाद सल्टीएको भन्दै सभापतिलाई प्रतिवेदन बुझाएका उनी आफै बुधबार वरिष्ठ नेता पौडेलसहितको दलबल लिएर अनशनरत नेताहरुलाई साथ दिन पार्टी कार्यालय सानेपा पुगे।यसलाई संस्थापन पक्षले पार्टी नेतृत्वले महाधिवेशन गराउन नचाहेको भ्रम फैलाउन पौडेल पक्षकाजिल्ला सभापतिहरु योजनावद्ध रुपमा अगाडि बढेको आरोप लगाएको छ ।तर पौडेल पक्षलेक्रियाशिल सदस्यताको विवादमा सभापति देउवा निरंकुश र तानाशाह बनेकोआरोप लगाएको छ ।

पौडेल पक्षका जिल्ला सभापतिहरु रिले अनसनमा बस्नु र शीर्ष नेताहरु नै ऐक्यवद्धता जनाउन पुग्नुले क्रियाशील सदस्यताको विवाद झनै बल्झिने देखिएको छ । यसले क्रियाशिल सदस्यताकै कारण तोकिएको भदौ १८ मै वडा अधिवेशन होला भनेर पत्याउने आधार समेत कमजोर बन्दै गएको छ । अब पनि महाधिवेशन नगरे पार्टीको वैधानिक हैसियत बचाउन सक्ने कुनै आधार बाँकी छैन । विवाद यत्रतत्र भइरहँदा पनि संस्थापन पक्षका नेताहरु महाधिवेशन हुनेमा ढुक्कप्राय देखिन्छन् ।

वडा अधिवेशन गर्नका लागि निर्वाचन समितिले १९ दिनको समय माग गरेको थियो । अब झण्डै एकसातामात्र बाँकी रहँदा समिति पनि ढुक्क छैन । यो अवधिमा समितिले सभापतिबाट अन्तिम नामावली पाएपछि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाउनु पर्नेछ ।ती निर्वाचन अधिकृतहरूले जिल्ला पुगेर वडाका लागि खटाउने मतदान अधिकृतहरूको प्रशिक्षण र निर्वाचन सामाग्रीसहित वडा–वडामा निर्वाचनका प्रतिनिधि खटाउनेछन् ।

पार्टीको विधान, निर्देशिका, मतदाता नामावली र अन्य कागजातसहित मतदान अधिकृतहरू ६ हजार ७ सय ४३ वडामै खटाउनुपर्नेछ । तर समय एक साता बाँकी रहँदा जुन सम्पन्न गर्न अत्यन्तै चुनौतिपूर्ण देखिन्छ । यसर्थ शिर्ष नेतृत्वबाटै महाधिवेशनमाथि आलटाल गर्न खोजिएको र फेरि पनि महाधिवेशन हुनेमा अलमल बढ्दै गएको देखिन आएको छ । भिडियोसहित–