राजनीति

प्रदेश–१ मा शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी, संसदीय दलको बैठकबाट नेता परिवर्तन


काठमाडौँ – प्रदेशमा पार्टी विभाजनको क्षति कम गर्ने लक्ष्यसहित एमालेले प्रदेश नम्बर १ सरकारको नेतृत्व परिवर्तन गर्ने तयारी गरेको छ । मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी सुरु भएको छ ।


एमाले संसदीय दलको बैठकले नेता परिवर्तन गरेर आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी छ । मुख्यमन्त्री राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रुपमा दलको नेता आचार्यलाई बनाउने र आजै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने तयारी छ ।

लामो समयदेखि झलनाथ खनाल–माधवकुमार नेपाल समूहमा रहेका एमाले सचिव आचार्यले पार्टी विभाजनका बेला साथ छाड्नुभएको थियो । अध्यक्ष केपी ओलीले यसअघि नै प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि आचार्य एकता अभियानमा सक्रिय हुनुभएको थियो । नेकपा समाजवादी दलले मान्यता पाएपछि प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएको छ ।