राजनीति

महानगरको कर उठाउने अनौठो तरिका, बाजागाजासहित करदाताको आँगनमा (भिडियोहित)


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विगत २५ वर्षयता घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको घरमा पञ्चेबाजा बजाएर सांकेतिक ताकेता गरेको छ । बक्यौता रकम असुल गर्न महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गर्ने करदातालाई फरक शैली अपनाएर ताकेता गरिएको हो ।

पटक –पटक ताकेता गर्दा पनि घरजग्गा–सम्पत्ति कर तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गर्दा पनि अटेर गरेपछि महानगरपालिका बुधबार बाजागाजासहित करदाताको घर आगनमा पुगेको थियो । काठमाडौका ठूला करदाताहरूले महानगरलाई विगत २–३ वर्ष देखि २५ वर्ष भन्दा बढी समयसम्मको घर/जग्गाको कर तिरेका छैनन् । त्यसैले सार्वजनिक रूपमा शालीन ढङ्गले बेइज्जत नै गर्नुपर्ने अवस्थामा महानगर पुगेको हो ।

करदाताहरूलाई कर तिर्न ३० दिने सूचना जारी गरेर नाम सार्वजनिक गर्दा समेत अटेर गरेपछि महानगरपालिकाले नैतिक दबाब समेत थप्न यस्तो विधि अपनाएको राजस्व विभागका साहयक निर्देशक प्रदिप कोइराला बताउछन् । नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियाबाट सरकारी कर असुल गरिने चेतवानी उनले दिए ।

करदातालाई कर बुझाउन रचनात्मक दबाब दिँदै विभागले आज दरबारमार्ग, न्यूरोड र नयाँ बजारका करदाताको घर–आँगनमा पञ्चेबाजासहित नाचगान गरेका छन् । अब पनि अटेर गरे कानुनी कारर्वाही नै अघि बढाउने महानगरपालीकाले जनाएको छ ।

कर नतिर्ने मध्ये न्युरोडका रञ्जना ट्रेड सेन्टर,केसर प्लाजा, कान्तिपुर होटल, शिशु अर्याल, ह्वाइट फिल्ड स्कुल, आरबी कम्प्लेक्स, सोल्टी मोडका होटेल प्ल्याटिनियमलगायतमा महानगरको टोली पुगेर बाजा बजाएको थियो । त्यसै गरी राइड सेयरिङ्ग ‘पठाओ’ मा समेत आज महानगरको विशेष टोली बाजागाजासहित गएर कर तिर्न दबाब दिएको छ ।