राजनीति

ओलीको अन्तिम चित्कार : माधवसंग गुनासै–गुनासो, कस्तो होला एकीकृत समाजवादी पार्टी ?(भिडियोसहित)


काठमाडौँ – एमालेबाट अलग्गिएर नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएका माधवकुमार नेपालको दलले मान्यता पाएको छ । भदौ २ मा दर्ता गरिएको निवेदनका आधारमा केन्द्रीय कमिटी र संसदीय दलका नेताहरुको सनाखतपछि नेपाल पक्षको पार्टी नेकपा एकिकृत समाजवादीले मान्यता पाएको हो । योसंगै एमालेको विभाजनले समेत कानुनी मान्यता पाएको छ ।

एमालेको असन्तुष्ट पक्षलाई सुविधा हुने गरि सरकारले २० प्रतिशत भए दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेको ९ दिनपछि बुधबार माधवकुमार नेपालको नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टीले मान्यता पाउने भएको छ । योसंगै विगत आठ महिनादेखि छताछुल्ल र रस्साकस्सीका बीच गुज्रिएको एमाले एकता र विभाजनको कहानी पनि समाप्त भएको छ ।

अब माधवतिरका १० स्थायी कमिटी सदस्यको साथ पाएर केपी शर्मा ओली एमाले मुलधारको नेतृत्वमै कायम छन् भने वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाएर अध्यक्ष बनेका छन् ।नयाँ दल दर्ताका लागि बुधबार ५५ जना केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेर सनाखत गरेपछि माधव नेपाल पक्षको पार्टी नेकपा एकीकृत समाजवादीले मान्यता पाउने भएको हो ।

माधव पक्षको दल दर्तामा सनाखत गर्न चाहेका केही सांसदलाई भने निर्वाचन आयोगले मान्यता दिएको छैन । त्यसमध्ये प्रतिनिधिसभाका सांसद झलनाथ खनालको सनाखतलाई भने आयोगले स्वीकारेको छ । तैपनि दल दर्ताको पक्षमा ५५ केन्द्रीय कमिटी सदस्य र ३० सांसदले सनाखत गरेका छन् ।सोमबार बेलुकादेखि चन्दागिरी हिल्स रिसोर्टमा भेला भएका नेताहरु बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।

दल दर्ताको मान्यता पाउने अन्तिम समयसम्म आईपुग्दा पनि एमाले अध्यक्ष ओलीले नेताहरुलाई प्रभावमा पार्न सक्ने डरकै कारण माधवकुमार नेपालले उनीहरुलाई चन्द्रागिरी पु¥याएका थिए ।जसलाई अध्यक्ष ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लिएर थुनेको र अपहरणकारी ज्यादतीपूर्ण काम गरेको आरोप लगाएका छन् ।

दल दर्ताको निर्णायक घडीमा माधव नेपालको साथ छाडेका नेताहरूले मंगलबार मात्रै एमालेको मूलधारमै समाहित हुने निर्णय गरि पार्टीको औपचारिक बैठकमा सहभागि भएका थिए । पार्टी अध्यक्ष ओलीसँग विवादित विषयमा सहमति जुटेपछि नेपाल पक्षबाट अलग भएका उनीहरुलाई ओलीले विभिन्न जिम्मेवारी पनि दिएका छन् । तर माधवलाई दोस्रो तहका आशातित नेताहरुले साथ छोडेपछि केही पाका बैचारिक नेताहरु र अधिकांश तेस्रो तहका नेताहरुले साथ दिएका छन् ।