समाचार

पत्रकारलाई फसाउन खोज्ने प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो


काठमाडौँ – पत्रकारलाई लागुऔषध कारोबारमा फसाएको घटनामा रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहसमेत संलग्नता देखिएपछि शाहलाई जिम्मेवारीबाट हटाइएको छ ।

निर्दोष पत्रकारको मोटरसाइकलमा लागुऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा एसपी शाहको समेत संलग्नता रहेकाले उनीमाथि छानबिनका लागि उनलाई जिम्मेवारीबाट हटाउने भएको छ । घटनामा संलग्नता देखिएकाले शाहलाई प्रदेश प्रहरी कार्यालयमा तान्ने गरी उनको ठाउँमा नयाँ एसपी पठाउने तयारी गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरका अनुसार घटनामा शाहको संलग्नताबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाएको छ । समितिमा कानुनी शाखाका डिएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य रहने छ । निर्दोष साबित भएर रिहामुक्त भएका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानबिन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउने छ ।

यस्तै, मोजिबुल्लाहलाई लागुऔषध मुद्दामा फसाएका धिरज यादव र जितेशकुमार यादवमाथि हाल अनुसन्धान भइरहेको छ भने प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन् ।