विदेश

फाइजर बन्यो अमेरिकामा पूर्ण स्वीकृति पाउने कोरोना भाइरसविरुद्धको पहिलो खोप



काठमाडौँ – कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ।

अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो। एफडिएको पूर्ण स्वीकृति पाउने फाइजर खोप पहिलो हो।

यसअघि यो खोपले आपतकालीन प्रयोग अनुमति पाएको थियो। एफडिएले पूर्ण स्वीकृति प्रदान गरे पनि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० बाट भने अहिले नै त्यस्तो स्वीकृति पाएको छैन। फाइजरले त्यसका लागि पनि प्रक्रिया अघि बढाइने जनाएको छ। फाइजरको खोप तीन हप्ताको अन्तरमा दुई मात्रा लगाउनु पर्छ।

एफडिएले १६ वर्ष र सो भन्दा माथिको उमेरका लागि पूर्ण स्वीकृति प्रदान गरेको हो। पूर्ण स्वीकृति पाएसँगै खोप लगाउन आनाकानी गरिरहेका तथा खोप विरोधीहरुलाई पनि बुझाउन सहयोग पुग्ने अपेक्षा छ। अमेरिकामा अहिले खोप लगाउन नमान्ने तथा खोप विरोधी अभियान महामारीको ठूलो चुनौतिका रुपमा देखिएको छ।

झण्डै ४४ हजार मानिसमा गरेको अध्ययनको नतिजापछि खोपलाई पूर्ण स्वीकृति प्रदान गरिएको एफडिएले जनाएको छ। यो खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९१ प्रतिशत प्रभावकारी देखिएको छ।

यो खोप १२ देखि १५ वर्ष उमेर समूहका लागि भने अझै पनि आपतकालीन प्रयोग अनुमति मात्रै रहेको एफडिएले जनाएको छ। एफडिएको पूर्ण अनुमतिसँगै अमेरिकी आर्मीले आफ्ना सबै सक्रिय सैनिकहरुले अनिवार्य रुपमा खोप लगाउनु पर्ने बताएको छ।

अमेरिकामा अहिले निःशुल्क खोप लगाउने गरिएको छ ।