राजनीति

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु पार्टी विधान र सांगठनिक छलफलमा


काठमाडौँ – प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू पार्टी विधान र सांगठनिक छलफलमा जुटेका छन् । विधान र सांगठनिक विषयमा स्पष्ट भएपछि सनाखतका लागि निर्वाचन आयोग जाने नेताहरूले बताएका छन् ।

यसैबीच, प्रस्तावित अध्यक्ष माधवकुमार नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपिल गर्नुभएको छ । पटक–पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको उहाँको भनाइ छ । एमाले अध्यक्ष केपी ओलीले १०बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका बेला नेपालले उक्त धारणा सार्वजनिक गर्नुभएको हो ।

कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभएको छ । नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढ्नुलाई उहाँले दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह भन्नुभएको छ ।