राजनीति

आयल निगमले फेरी बढायो मूल्य, अझै पनि घाटा


काठमाडौँ – नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । सोमबार राति १२ बजेदेखि बढेको मूल्य लागू भएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ ।

अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ । अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाइएको छ । अब यस्तो इन्धनको मूल्य प्रतिकिलोलिटर ७७० अमेरिकी डलर पर्नेछ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८।४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २।६४ रुपैयाँ तथा एल।पि।ग्याँसमा प्रति सिलिण्डर ४२०।७५रुपैयाँ घाटा रहने निगमले बताएको छ ।