समाचार

टंकप्रसाद रमादेवी पाठक पुरस्कार योहो टेलिभिजनका समाचार प्रमुख भण्डारीलाई


काठमाडौँ –  हेम–सरिता फाउण्डेशनले २०७७ सालको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दिइने भएको छ ।

तीन दशक अघिदेखि पत्रकारितामा रहेका भण्डारीले दुई हजार अमेरिकी डलर राशीको पुरस्कार दिन लागिएको हो ।भण्डारी योहो टेलिभिजनको समाचार प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ ।

हेम–सरिता फाउण्डेशनले सुशासन एवं भ्रष्टाचारविरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई यो पुरस्कारद्वारा सम्मानित गर्ने गरेको छ ।

यसबर्ष तीर्थ कोइरालाको संयोजनमा पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनौट समिति गठन गरिएको थियो । अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गरेका हुन् ।

टंकप्रसाद रमादेवी साधना पुरस्कार, टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कार कोभिड-१९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिति सामान्य हुनासाथ पुन शुरु गरिने फाउण्डेसनले जनाएको छ ।