देश

कोरोना कहरकाबीच गाइजात्रा, यसरी मनाइयो धुमधामका साथ


काठमाडौँ – परम्परागत सांस्कृतिक पर्व गाइजात्रा देशभर मनाइएको छ । गत वर्ष कोरोनाका कारण रोकिएको गाइजात्रा पर्व यो वर्ष काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मनाइएको हो । सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा समेत दिएको छ । काठमाडौं उपत्यकामा कोरोना कहरका बीच पनि गाइजात्रा मनाइएको छ ।

गाईजात्राका अवसरमा सोमबार बसन्तपुर क्षेत्रमा झरीकैबीच मानिसहरुको उपस्थिति उल्लेख्य थियो । यसदिन धार्मिक कर्म गर्यो भने मृतकलाई स्वर्गलोक प्राप्त गर्न सहज हुन्छ भन्ने जनविश्वास रहि आएको छ । विशेष गरी नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्दछन् । यसअवसरमा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।

राजा प्रताप मल्लले पुत्रको मृत्युको शोकमा भावविह्वल भएकी रानीलाई बुझाउनका लागि सबै जनतालाई आफ्नो घरबाट गाईजात्रा निकाल्नू भनेर आदेश दिएपछि यो पर्व शुरु भएको गणपतिलाल श्रेष्ठ बताउछन् । यो दिन दिवंगतहरुको गुणगान र उनीहरूप्रति श्रद्धाञ्जलीका साथै हाँसो, ठट्टा र व्यङग्य गर्दै आनन्द लिने पनि गरिन्छ । धर्मशास्त्रमा उल्लेखअनुसार जसरी मर्नुअघि गाईको पुच्छर समातेर वैतरणी गरे स्वर्ग पुगिन्छ भन्ने शास्त्रीय मान्यता छ, त्यसरी नै मृतकलाई यस कार्यबाट स्वर्गमा पुग्न सहयोग पुग्ने जानकारहरु बताउछन् ।

कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध थियो । त्यसलाई मध्यनजर गर्दै भिडभाडलाई व्यवस्थापन गर्न नेपाल प्रहरी र नेपाल स्काउटलगायत परिचालन समेत गरिएको थियो ।

रानीलाई खुशी पार्न गरेको यो उपायले पनि रानी खुशी नभएपछि आजकै दिन विभिन्न हास्य व्यंग्यात्मक सिर्जनाहरुको कार्यक्रम आयोजना गरेर राजा प्रताप मल्लले रानीको मन शान्त पारेको इतिहास छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।