राजनीति

केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : डा. महत


काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको हो । सबै पार्टीहरूलाई मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाई हुन गएको उहाँको स्पष्टिकरण थियो ।

सहमहामन्त्री महतले काँग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिष्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताउनुभयो । सहमहामन्त्री महतले नेपाली काँग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताउनुभयो ।

साथै उहाँले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्न नहुने बताउनुभयो । सहमहामन्त्री महतले आउँदो आम निर्वाचन महत्वपूर्ण भएकोले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।