राजनीति

भदौ ९ गतेबाट जसपाले प्रादेशिक भेला गर्ने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रादेशिक कार्यकता भेला सञ्चालन गर्ने भएको छ । जसपाले भदौ ९ गतेबाट भेला सुरु गर्नेछ । भदौ १ र २ गते बसेको पार्टी केन्द्रीय कार्यकारिणी बैठकको निर्णय बमोजिम प्रादेशिक भेला हुने भएको हो । जसपा नेता डम्बर खतिवडाका अनुसार भेला भदौ १७ गतेसम्म ७ प्रदेशका ८ जिल्लाहरूमा हुनेछ । जसअनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र वीरगञ्जमा भेला गर्ने जसपाको तयारी छ ।

यस्तै, वाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको भैरहवामा कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना हुँदैछ । खतिवडाका अनुसार भदौ ९ गते पहिलो कार्यक्रम विराटनगर र काठमाडौंबाट एकसाथ सुरु हुँनेछ । कार्यक्रम अन्तर्गत विराटनगर, जनकपुर र वीरगञ्जमा हुने कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्रराय यादव, सुशिला श्रेष्ठ, अमृता अग्रहरी लगायतले सम्बोधन गर्नेछन् ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरू राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव लगायतले काठमाडौं, पोखरा र धनगढीको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सुर्खेतको कार्यक्रमका लागि नेताहरू नवराज सुवेदी, महेन्द्रराय यादव लगायत जिल्ला जानेछन् ।