राजनीति

नयाँ पार्टीबाट माधव नेपाल पछि हटे सबै कारबाही फिर्ता हुन्छ : केपी ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ता गर्ने निर्णयबाट पछि हटे अहिलेसम्मका सबै कारबाही फिर्ता लिने बताउनुभएको छ । एमालेको कार्यदलमा सहभागी सदस्यहरुसँग निजी निवास बालकोटमा भएको छलफलपछि अध्यक्ष ओलीले आफू नेपालसँग मिलेर जान तयार रहेको बताउनुभएको हो ।

‘कारबाहीका कुरा प्राविधिक मात्रै हुन्, मुख्य कुरा मिल्ने भन्ने हो’, ओलीले कार्यदलका नेताहरुसँग भन्नुभयो, ‘माधव नेपालले नयाँ पार्टीबाट फिर्ता गर्ने निर्णयले अहिलेसम्मका सबै कारबाही फिर्ता हुनेछन् । पार्टी पनि केन्द्रदेखि तलसम्म २०७५ जेठ २ को अवस्थामा क्रियाशील हुनेछ ।’ बैठकमा सहभागी नेता योगेश भट्टराईका अनुसार ओली १० बुँदे सहमति कार्यान्वयन गर्न तयार हुनुभएको छ ।