राजनीति

एमाले तेस्रो धारका नेताहरुलाई ओलीले बोलाए छलफलमा


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा रहेका तेस्रो धारका नेताहरुलाई छलफलमा बोलाएको छ । पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरु अन्ततः अध्यक्ष ओलीसँग निर्णायक वार्तामा जुटेका छन् ।

सोमबार या मंगलबारसम्म पनि अध्यक्ष ओलीले भेट नदिए र १० बुँदे कार्यान्वयनबारे प्रतिवद्धता नजनाए पुनः आफ्नो समूहका नेताहरुबीच छलफल गरेर आगामी बाटो तय गर्ने तेस्रोधारका नेताहरुले बताएपछि ओलीले सोमबार बिहानै नेताहरुलाई छलफलमा बोलाएका हुन् । तेस्रोधारका नेताहरुले ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल लगायतका नेतामार्फत ओलीलाई भेटेर छलफल शुरु गरेका छन् ।

वार्ताका लागि ओली निवास बालकोटमा भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य ,रघु पन्त लगायतका तेस्रो धारका नेताहरु पुगेका हुन् । ‘हामीले नौ गते अगावै सकेसम्म सवै कुरा टुंग्याउनु पर्छ भनेका छौं’, उपाध्यक्षसमेत रहेका तेस्रो धारका नेता एक नेताले भने, ‘अध्यक्ष ओली पक्षका नेताहरुमार्फत हाम्रो कुरा जानकारी गराएका छौं, साथीहरुले भेट्ने समय मिलाउनुभएको छ ।’