राजनीति

एमालेका तेस्रो धारका नेताहरुले दिएको अल्टिमेटम आज सकिँदै


काठमाडौँ – एमालेका तेस्रो धारका नेताहरूले पार्टी एकताका लागि भन्दै दिएको अल्टिमेटम आज सकिँदै छ । उपाध्यक्ष भीम रावलसहित स्थायी कमिटीका ९ नेताले अल्टिमेटम दिएपनि सकारात्मक संकेत भने आएको छैन् । उनीहरू अझै माग सम्बोधन हुने अपेक्षमा रहेका छन् ।

अध्यक्ष केपी ओलीले १०बुँदे कार्यान्वयन र वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ सांसदमाथिको कारबाही फिर्ता लिनुपर्ने माग उनीहरूको छ । यस्तै, अलग पार्टी दर्ता प्रक्रिया रोक्न र एकतामा सकारात्मक हुन नेपालसँग पनि उनीहरूले आग्रह गरेका छन् । ओली र नेपाललाई उनीहरूले आजसम्मको समय दिएका छन् । नयाँ पार्टी खोलिसकेका नेपालले मात्र होइन, अध्यक्ष ओलीले पनि माग बेवास्ता गरेपछि एकताको कोसिस गरिरहेका उनीहरू कसरी अघि बढ्ने भन्ने अन्योलमा देखिएका छन् ।

रावलसहित, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट र रघुजी पन्तले अन्तिम समयमा नेता नेपालको साथ छाडेका छन् । केन्द्रीय सदस्य र सांसद गरी ५७ जनाको भेलाले १०बुँदे सहमतिको अक्षरशः कार्यान्वयन, १४ सांसदमाथिको कारबाही फिर्ता गर्नुपर्ने र दल दर्ता प्रक्रिया रोक्नुपर्ने माग राखेका थिए ।