राजनीति

देउवा नेतृत्वको सरकारमा माधवलाई रोजीरोजी मन्त्रालय (भिडियोसहित)


काठमाडौँ – केपी शर्मा ओलीको शासन सत्तामा शक्ति नपाएकै सन्तुलन नमिलेकै कारण चीढिएका माधवकुमार नेपाल पक्षलाई देउवा नेतृत्वको सरकारले राहत दिएको छ ।

संवैधानिक र राजनीतिक नियुक्तिमा पहिलो प्राथमिकता र सरकारमा समेत रोजेकै मन्त्रालय दिने भएपछिमाधव नेपाल पक्षलाई खुसी मिलेको छ ।

नेकपा एमालेबाट चोईटीएर नेकपा एकिकृत समाजवादी नामको पार्टी दर्ता गरेको माधवकुमार नेपाल पक्षलाई सरकारले अबसरको चाङ नै लगाइदिएको छ । विहिबारको मन्त्रिपरिषद् बैठकले बागमति प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई हटाएर माधवकुमार नेपाल पक्षका यादवचन्द्र शर्मालाई नियुक्त दियो ।

सरकारले प्रदेश प्रमुख नियुक्त गरेका शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकिय सचिवको जिम्मेवारीमा थिए । उस्तै नियुक्त सरकारले रेलवे कम्पनी लिमिटेडमा समेत गराएको छ ।महाप्रबन्धकगुरुप्रसाद भट्टराईलाई राजीनामा दिन लगाएर सरकारले माधव नेपाल पक्षकै नीरञ्जन झालाई नियुक्त गररेको छ ।

अन्य राजनीतिक र संवैधानिक नियुक्तिहरुमा समेत सम्मानजनक हैसियतले स्थान दिने सत्ताधारी गठबन्धनको तयारी छ । त्यतिमात्रै होइन फरक पार्टी नै बनाएर सरकारमा जान तयार भएको यो पक्षलाई सरकारमा मन्त्रालय छान्ने पहिलो अधिकार माधव नेपाललाई दिइएको छ ।

माधव नेपाल पक्षकै सहजताका लागि २० प्रतिशत भए पार्टी फुटाउन मिल्ने अध्यादेश जारी गरेको गठबन्धनले सरकारमा समेत रोजेकै पाँच मन्त्रालय र एक राज्यमन्त्री दिने तयारी गरेको छ । गठबन्धनले यसअघि नेपाल पक्षलाई सरकारमा सामेल गराउनकै लागि मन्त्रीमण्डल विस्तारमा ढीलाई भएको बताउँदै आएको थियो । तर व्यवहारिक रुपमा गठबन्धनलाई सघाउँदै आएपनि कानुनी रुपमा प्रमुख प्रतिपक्षी दलकै हैसियतमा थन्कीएको माधव पक्षलाई पार्टी फुटाउन गठबन्धनले गुन लगाएपछि अब सहज तरिकाले सरकारमा जाने निधो गरेको नेताहरु बताउँछन् ।
गतअसार २९ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पाँच मन्त्री र एक राज्यमन्त्रीबाहेक हालसम्म सरकारलाई पूर्णता दिएका छैनन । अब माधव नेपाल पक्षको दलले निर्वाचन आयोगबाट मान्यता पाएपछिमात्रै सरकारलाई पूर्णता दिने सत्ताधारी गठबन्धनको तयारी छ ।

केहीदिन अघिमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत माधव पक्षको दलले मान्यता पाएपछि शक्ति बाँडफाँड टुङग्याउने बताएका थिए । यो संगै विगतमा आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको वेवास्तामा परेका माधवले सरकार र राज्यका निकायमा शक्तिशाली स्वाद लिन पाउने भएका छन् ।