राजनीति

विवादैविवादले काँग्रेसको महाधिवेशन फेरि अन्योलमा (भिडियोसहित)


काठमाडौँ – छैटौंपटक संसोधन भएर भदौ १८ मा हुन गइरहेको काँग्रेसको वडा अधिवेशन आउन अब २ साता बाँकी छ । तर वडा तहकै क्रियाशिल सदस्यताको विवाद टुङगीएको छ । न त केन्द्रीय समितिले जिम्मा दिएको तीन सदस्यीय कार्यदलले नै विवाद निरुपणको प्रतिवेदन सभापतिलाई बुझाएको छ ।

भदौ १६ देखि १९ सम्म तय भएको १४ औं महाधिवेशनलाई करिब तीन महिना पर धकेलेर मंसिर ९ देखि १३ सम्मको कार्यतालिका सार्वजनिक गरेको नेपाली काँग्रेसले क्रियाशिल सदस्यताको विवाद मिलाउने मिति भदौ २ लाई तोकेको थियो ।

कार्यतालिका संसोधनका लागि बसेको केन्द्रीय समितिको बैठकबाट विवाद निरुपणको जिम्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिईएको थियो । तर भदौ ५ सम्म पुगिसक्दा समेत यी नेताले विवाद निरुपण गर्न सकेका छैनन् ।

महाधिवेशनको नयाँ कार्यतालिका प्रभावित नहुने गरी विवादलाई सम्बोधन गर्ने सैद्धान्तिक सहमति जुटेकोनेताहरु बताउँछन् । अन्य राजनीतिक दलबाट प्रवेश गर्ने नेता कार्यकर्ताहरुको सदस्यता सम्बन्धी विवाद सम्बोधन गर्नैपर्ने अवस्था भएपनि त्यसका लागि सम्बन्धित वडामा पुराना क्रियाशील सदस्यताको संख्याभन्दा बढी नहुने गरी थप गर्ने सैद्धान्तिक सहमति जुटेको छ, तर निष्कर्ष निस्कीएको छैन ।

यसअघिपनि क्रियाशील सदस्यता छानबिन समितिले सिन्धुपाल्चोक, रसुवा, धनुषा र सर्लाहीलगायतका ठाउँहरुको विवाद समाधान गर्न नसकेर शीर्ष नेतृत्वलाई जिम्मा दिएको थियो । रौतहट, सर्लाही र बाराका नेता कार्यकर्ताहरु समेत पार्टी कार्यालयमा धर्ना र प्रदर्शन गर्न उत्रिए । जसकै विवाद समाधानका लागि सिटौलाको नेतृत्वमा अर्को समिति बनेको हो । तर यो समितिले समेत लछारपाटो लगाएको छैन ।

छानबिन समितिले विवाद समाधान गर्न नसकेर स्थगित गरेका १७० वडाको सदस्यताका विषयमा नेताहरुले छलफल नै गरेका छैनन । यता समितिले बुझाएका आठ लाख ५२ हजार ७११ जना सदस्यको नामावली केन्द्रीय समितिले पारित गरिसकेको छ । अब वडा अधिवेशन आउन दुईसाता बाँकी छ । तर वडातहकै विवाद निरुपण भएको छैन । यसले पहिलेकै जस्तो वडा अधिवेशन स्थगित र महाधिवेशन प्रभावित नहोला भन्न सकिन्न ।