राजनीति

एमालेले निष्कासन गरेका १४ सांसदलाई अविलम्ब कारवाही गर्न नेताहरु सभामुख कार्यकक्षमा


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गर्न कारवाही अगाडि बढाउन माग गर्दै नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण गराएको छ । एमाले संस्थापन पक्षका सांसदहरू शुक्रवार पनि सभामुखको कार्यकक्षमा गएर कारवाही गर्न दबाब दिएका हुन् ।

यसअघि बिहीवार संघीय संसद्मा एमालेका प्रमुख सचेतक विशाल भट्टराईका नेतृत्वमा सिंहदरवारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारवाही गर्न माग गरेका थिए । सचेतक भट्टराईले सभामुख सापकोटाले एमालेको निवेदन उपर कारवाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको बताए ।

पहिले माओवादी केन्द्रमा रहेका टोपबहादुर रायमाझी लगायतलाई नेतालाई आयोगले तत्काल कारवाही गरेको र एमालेले कारवाही गरेका १४ जना सांसदलाई भने कारवाही गर्न विलम्ब गरेको भन्दै एमाले नेताहरू आक्रोशित छन् । नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारवाही गर्छु भन्ने सोचेको भए नेकपा एमाले चुप लागेर नबस्ने सचेतक भट्टराईले चेतावनी दिए ।

एमालेले कारबाही गरेका सांसदसहित नेताहरुले माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिइसकेका छन् । एमाले स्थायी कमिटी बैठकले १ भदौमा माधव नेपालसहित १४ जना सांसदहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।