समाचार

तेह्रौं दिनमा तोडे भूपू गोर्खाहरुले अनसन


काठमाडौँ – बेलायती प्रधानमन्त्री कार्यालयअघि १३ दिन देखि आमरण अनसनमा बसेका भुपू गोर्खाहरूको अनसन तोडिएको छ । बिहीबार बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो । बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि समान पेन्सन लगायतको माग गर्दै बसेको अनसन तोडिएको हो ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनशन तोडिएको लन्डन न्यूजले जनाएको छ । टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरूङले भोक हड्ताल थालेका थिए । यस्तै आमरण अनसन बसेका भूतपूर्व गोर्खाहरूको सम्बन्धमा सर्वोच्च अदालतले नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतबाट नेपाल सरकारका नाममा तत्काल बेलायत सरकारसँग वार्ता गर्न र आमरण अनसनमा रहेका तीन जना भुपू गोर्खाहरूको जीवन रक्षाका लागि आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चद्वारा जारी गरिएको यस निर्णय आन्दोलनकारीहरूका लागि एउटा ठूलो नैतिक जित भएको बताइएको छ ।