राजनीति

घिसिङविरुद्धको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा, शाक्यद्वारा आफ्नो पक्षमा अन्तरिम आदेश माग


काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक आफू नै रहेको दावी गर्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाई हुँदै छ । शाक्यले सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाए पनि आफूले स्वीकार नगरेको शाक्यको दाबी छ । आफूले राजीनामा नदिएको र पदबाट समेत नहटाएको भन्दै शाक्यले एउटै पदमा दुई व्यक्ति कायम गरेको जिकिर गर्नुभएको छ । शाक्यले कार्य सम्पादन सम्झौतामा राजीनामा गरेको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने जिकिर गर्नुभएको छ । शाक्यले आफ्नो पक्षमा अन्तरिम आदेशसमेत माग्नुभएको छ ।