समाचार

पुनर्निर्माणमा खटिएका इन्जिनियर आन्दोलित (भिडियोसहित)


काठमाडौँ – राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा कार्यरत इन्जिनियर तथा प्राविधिकहरु आन्दोलनमा उत्रिएका छन । देशभरका ३ हजार भन्दा बढि इन्जिनियर तथा प्राविधिकहरु प्राधिकरणले सेवा, सुविधा नदिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । सरकारले अन्याय गरेको भन्दै उनीहरुले आफ्नो माग पुरा नगरे देशब्यापी आन्दोलन गर्ने चेतवानीसमेत दिएका छन् ।

२०७२ सालको भूकम्पपछि भत्किएका विभिन्न संरचना निर्माणमा इन्जिनियर तथा प्राविधिकको महत्वपुर्ण भुमिका रहेको छ । उनीहरुलाई सरकारले साथमा लिएर पुनर्निमाण कार्यहरुलाई अघि बढाएको थियो । यसैकारण धरहरा रानीपोखरीलगायतका लाखौं पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरु पुनः जीवन्त भएका छन् । तर, काम गरेबापत राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै उनै इन्जिनियर तथा प्राविधिकहरु आन्दोलित बनेका छन् ।

यसअघि ४ हजार प्राविधिकहरुले एकैसाथ राजीनामा दिएपछि मात्र प्राधिकरणले माग पुरा गरिदिएको थियो । अहिले प्राधिकरणसँग तीन हजार मात्र प्रविधिक आवद्ध छन् । तीनै मध्ये केहीले सडकमा आएर आन्दोलन गर्न थालेका हुन् । नेपालको प्राविधिक इतिहासकै सबैभन्दा ठुलो सफल आन्दोलन गरिसकेको समुहलाई पुनः आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको उनीहरुको भनाइ छ ।

उनीहरुले कामकाजमा खटिएवापत तलबको अतिरिक्त खाइपाई आएको भोगोलिक र प्रोत्साहन भत्ता लगायत अन्य सेवा, सुविद्याबाट बञ्चित बनाइएको भन्दै विरोध गरेका हुन् । अहिले पुनर्निमाण प्राधिकरणले आफ्नो कर्मचारी नै होइन भन्दै निकालिदिएको गुनासो उनीहरुले गरेका छन् ।

यसअघि इन्जिनियर तथा प्राविधिकले यी मागहरु पुरा नभएको भन्दै सडक संघर्ष र सामूहिक राजीनामा घोषणा गरेका थिए । प्राविधिक संरक्षण समितिले खाइपाई आएको प्रोत्साहनसहित दुर्गम भत्ता, प्राविधिकहरुको उचित व्यवस्थापन लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन् ।