समाचार

कुलमान घिसिङको घोषणा : ८० सालभित्र सबैका घरमा विद्युत् पुर्‍याउँछौँ (भिडियोसहित)


काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने लक्ष्यका साथ प्राधिकरणले काम अगाडी बढाएको बताएका छन् ।

प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा ऊर्जामन्त्री पम्फा भुसालले विद्युत खेर जान नदिन र खपत बढाउन वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महशुल निर्धारण गरिने बताइन् ।

मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री मन्त्री पम्पा भुसाले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिइन् । उनले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिइन् । कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उनको चेतावनी छ ।

मन्त्री भुसालले किसानलाई सिँचाईमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गरिन् । उनले आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी दिइन् ।

उनले विद्युत प्राधिकरणले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने र गुनासोहरुको तत्काल सम्बोधन गर्न संयन्त्र बनाउने तथा वितरण संरचनाको स्तरोन्नति एवम् विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पु¥याउने सरकारको लक्ष्य पुरा गर्नेगरी प्राधिकरणले काम अगाडी बढाएको बताए ।

उनले महाराजगञ्ज वितरण केन्द्रका केही स्थानमा वितरण प्रणालीलाई भुमिगत गर्ने कार्य सम्पन्न भएको र कुलेश्वर, किर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजुमा वितरण लाइन भुमिगत गर्ने काम अगाडी बढेको बताए । त्यस्तै ललितपुर, भक्तपुर, पोखरा र भरतपुरमा पनि वितरण लाइन भुमिगत गर्ने कामको प्रक्रिया शुरु भएको जानकारी दिए ।

कार्यकारी निर्देशक घिसिङले देशभर थ्रिफेज मिटरलाई स्मार्ट बनाउने कार्य अगाडी बढाइएको पनि बताए । वितरण प्रणालीलाई स्वचालित बनाउने काम पनिको पनि प्रक्रिया थालनी गरिएको उनले उल्लेख गरे ।