बिजनेस

नेप्से झिनो अंकले बढ्यो, १८ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ०.२३ अंकले बढेर ३ हजार १६० दशमलव ३२ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार मंगलबार कूल १८ अर्ब २० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कूल २२१ वटा कम्पनीका तीन करोड छ लाख १३ हजार ४३९ कित्ता सेयर एक लाख ६१ हजार ७२१ पटक खरिद–बिक्री भएका थिए । त्यस्तै आज क वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३५ अंकले बढेर ५९३.२८ विन्दुमा कायम भएको छ ।

आज अपि पावर कम्पनीको सेयर सबैभन्दा धेरै ८६ करोड ३८ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स बाहेक सबै उपसमूहका परिसूचक घटेको नेप्सेले जनाएको छ ।