विदेश

सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा


काठमाडौँ – अफगानिस्तानको सत्ता कब्जा गरेको सशस्त्र विद्रोही समूह तालिबानले सबै सरकारी अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले तालिबानलाई उद्धृत गर्दै सरकारी कर्मचारीलाई काममा फर्कन भनेको जनाएको हो । मंगलबार एक विज्ञप्तिमार्फत् तालिबानले सबैलाई पूर्ण मनोबलका साथ काममा फर्किन आग्रह गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाइहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ शुरु गर्न सक्नुहुन्छ।’ यसैगरी, तालिबान नेतृत्वले अफगानिस्तानमा मानवीय कार्य जारी राख्न पनि आग्रह गरेको छ ।

राष्ट्रसंघको शरणार्थी नियोग (यूएनएचसीआर) लाई छापसहित पठाइएको पत्रमा तालिबानले मुलुकमा उक्त संस्थाको मानवीय र राहत कार्य जारी राख्ने जनाएको हो । आश्वासनले मूर्तरुप पाए सहयोगको पर्खाइमा रहेका अफगानी नागरिकलाई सघाउन सकिने यूएनएचसीआरकी एशिया प्यासिफिक क्षेत्रीय निर्देशक और्भासी पटेलले जानकारी दिए ।

तालिबानको यसअघिको शासन सम्झनेहरुमा एक किसिमको त्रास देखिएको भन्दै पटेलले भने,‘अहिले उनीहरुले आश्वासन दिएका छन् । यद्यपि उनीहरुको केही कदम अहिलेको वक्तव्यको विपरीत देखिएको छ ।

त्यसैले मलाई तालिबानले जे भन्छ, त्यो पालना गरोस् र मानिसहलाई बोलीबाट नभई अभ्यासगत रुपमा नै आश्वस्त पारोस् भन्ने लाग्छ ।’ सत्ता कब्जा गर्दै तालिबान शक्तिमा आएपछि अफगानिस्तानमा आममानिस त्रसित छन् भने विदेशी मुलुकहरुले आफ्ना नागरिकलाई धमाधम उद्धार गर्दै लगिरहेका छन् ।