समाचार

काठमाण्डौमा थुप्रियो फोहोर, महानगर भन्छ–घरभित्रै राख्नु



काठमाडौँ – केहि दिनदेखि काठमाडौँ महानगरपालिकामा फोहोर संकलन हुन सकेको छैन । सडक र चोकमा फालिएको फोहर कुहिएर दुर्गन्ध त फैलिए कै छ, त्यसमाथि झरिको यो मौसममा संक्रामक रोगको खतरा पनि बढेको छ ।

सिसडोलसम्म पुग्ने सडक वर्षाका कारण अवरुद्ध भएको हुँदा फोहोर संकलन गर्न नसकिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । त्यसमाथि महानगरपालिकाले केही दिन घर बाहिर फोहर नफाल्न आग्रह गरेर संक्रमणको त्रासलाई झनै बढाएको छ ।

काठमाडौँ महानगर पालिकाले केही दिनदेखि नउठाएको फोहर झरीका कारण यत्रतत्र छरिएका भेटिन्छन् । निरन्तरको वर्षाले सडक, चोकमा फालिएका फोहर कुहिएर दुर्गन्ध बढेको छ । त्यसमाथि संक्रामक रोगको जोखिम पनि बढाएकै छ ।

निरन्तर झरिका कारण केहि दिनदेखि सिसडोल पुग्ने सडक अवरुद्द भएको कारण काठमाडाँै महानगरपालिकाले फोहोर संकलन बन्द गरेको हो । दैनिक १५० ट्रक फोहोर सिसडोलमा व्यस्थापन गर्ने गरिएको थियो । तर, वर्षाको कारण सडक नै अवरुद्ध भएपछि ५० ट्रक मात्रै फोहोर सिसडोल पठाइँदै छ ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३ महिनामा ३५ दिन काठमाडौँको फोहोर सडकमै रहेको र अझै १५ दिन घरमै फोहोर राख्नुपर्ने भए फोहोरबाट मोहोर बनाउने भनेर छुट्टाइएको बजेटको अर्थ नरहेको बताउँदै सरकारलाई दबाब दिएका थिए ।