राजनीति

प्रचण्डको राजनीतिक कार्यदिशा सफल होला त ?



काठमाडौँ – वैधानिकता र संगठनात्मक संकटमा परेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आउँदो पुसमा राष्ट्रीय सम्मेलन गर्ने निर्णय गरिसकेको छ । पार्टीको सांगठनिक संरचनामा सुदृढ बनाउन वडादेखि राष्ट्रीय सम्मेलनसम्मको तयारी थालेको माओवादी केन्द्रले वामपन्थी एकतामा पनि जोड दिएको छ । परिवर्तनका उपलब्धीलाई जोगाउन अहिलेको सत्ता गठबन्धनलाई आगामी आमनिर्वाचनसम्म कायम राख्नुपर्ने माओवादीको मान्यता छ ।

तर माओवादीको लक्ष्य पूरा होला त भन्ने बहस सुरु भएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा प्रतिगमनको खतरा टरेपनि समाप्त नभईसकेको उल्लेख छ । परिर्वतनलाई उल्ट्याउन खोज्ने शक्तीले अहिलेको वामलोकतान्त्रीक गठबन्धनलाई भत्काएर एमाले अध्यक्ष ओली नेतृत्वमै सरकार बनाउन चाहेको आरोप प्रचण्डको छ । सत्ता गठबन्धनलाई आउँदो चुनावसम्म लैजान सके मुलुक पहिलो राजनीतिक शक्ती बन्ने प्रचण्डको महत्वाकांक्षा प्रचण्डले प्रस्तुत प्रतिवेदनमार्फत सार्वजनिक भएको छ । साथै विधान संशोधन प्रस्तावमा माओवादी केन्द्रले सामुहीक नेतृत्व पद्धती अंगीकार गर्ने जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा मुख्य साझेदार रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गठबन्धनका सुत्रधार पनि मानिन्छ । तर अध्यक्ष प्रचण्डलाई अझैपनि सरकार अल्पमतमा पर्न सक्ने चिन्ता छ ।

शान्तिपुर्ण राजनीतिमा आएदेखि नै पटक पटक फुटको सामना गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संकटपुर्ण समयमा लिएको सुझबुझपुर्ण निर्णयको परिणाम स्वरुप राष्ट्रीय राजनीतिमा निर्णायक भूमिका निभाउन पाइरहेका छन् । एमालेसँगको एकता असफल भईसके पछि प्रचण्डले यतिबेला वाम एकताको नारा उचालेका छन् । उनको यो प्रयास कति सफल हुन्छ भन्ने हेर्न भविष्यलाई कुर्नै पर्छ ।