राजनीति

ओलीपथमा देउवा : दल विभाजन अध्यादेश ल्याउन संसद अधिवेशन अन्त्य


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले फुटाउने लक्ष्य लिएको देखिन्छ । चलिरहेको संसद अधिवेशना अन्त्य गराउनुलाई दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने रणनीतिको रुपमा लिइएको छ । एमालेको माधवकुमार नेपाल समुहलाई अलग्याएर सरकारमा सहभागि गराउन खोजिएको हो ।

प्रधानमन्त्री भएको एक महिना बितिसक्दा पनि मन्त्रीमण्डल बिस्तार गर्न नसेकपछि प्रधानमन्त्री शेर बहादुर देउवाले अध्यादेशकै साहारा खोजेका छन् । ५ दलिय गठबन्धन मध्ये नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई पार्टीबाट अलग्याउनका लागि अहिलेको नियमले साथ दिदैन ।

एमालेबाट बाहिरिएमा माधव पक्षमा भएका सांसदको पद जाने अवस्था छ । सांसदको पद जोगाउनका लागि माधव पक्षको संसदीय दल र केन्द्रिय कमिटिमा भएका सदस्य संख्याहरुलाई आधार मानेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री देउवाले संसद अधिवेशन अन्त्य गराएको आशंका गरिएको छ । सोमवार प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।

यसरी विना कारण संसद अधिवेशन हुँदैछ भन्ने सुइको एमालेका सांसदहरुले पहिलै थाहा पाएका थिए । संसद अधिवेशन अन्त्य गराउनुको कारण दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनका लागि हो भन्ने कुरा पनि धेरैले अनुमान गरिरहेका छन् । त्यसैले सोमबारको बैठकमा एमालेको ओली पक्षका सांसद महेश बस्नेतले एमाले फुटाउन अध्यादेश ल्याउन खोजिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले देउवा सरकारले अध्यादेशकै बाटो रोज्नुलाई संसदीय इतिहासमा कालो दिनको रुपमा अंकित हुने चेतावनी दिएका छन् ।

गठजोडवाट बनेको देउवा नेतृत्वको सरकारलाई मन्त्रीमण्डल बिस्तारमा चुनौती आएसँगै दल फुटाउने अध्यादेशको तयारीमा सरकार जुटेको हो । यसले जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव पक्षलाई केही राहत हुने देखिए पनि सरकार संचालनमा अध्यादेशको साहारा लिदाँ देउवाको चौतर्फी आलोचना हुने निश्चित छ ।