समाचार

राष्ट्रिय पुस्तकालयप्रति सरकारी वेवास्ता, ६ बर्षमा पनि बन्न सकेन भवन


काठमाडौँ – २०७२ सालमा विनाशकारी भूकम्प गएपछि हरिहर भवन तहसनहस भयो । भवनमै रहेको नेपाल राष्ट्रिय पुस्तकालयका एक लाख ५० हजार पुस्तकहरु अन्यत्र स्थानान्तरण गरेर संरक्षण तथा व्यवस्थापन गरियो । तर भूकम्प गएको ६ वर्ष वित्दा पनि विवादका कारण भवन निर्माण हुन सकेको छैन । अर्थात यसबीच धेरै संरचनाहरुको पुनर्निर्माण भएपनि राष्ट्रिय पुस्तकालयको भवन निर्माण अझै सरकारी प्राथमिकतामा पर्न सकेको छैन ।

भूकम्प गएको अहिले ६ वर्ष कटिसकेको छ । यसबीचमा धेरै संरचनाहरुको पुनर्निर्माण भएपनि राष्ट्रिय पुस्तकालयको भवन निर्माण भने अझै अलपत्र अवस्थामा छ । अर्थात भवन निर्माणबारे धेरै काम अघि बढिसकेको भए पनि भवनको काम रहस्यमय तरिकाले रोकेर राखिएको छ । सरकारले पुस्तकालयको भवन जमलमा सार्न करिब आठ रोपनी जमिन पुस्तकालयकै नाममा नामसारी गरिदिएको छ । यो जमिनमा नौ तलाको राष्ट्रिय पुस्तकालय भवन बनाउने मास्टर प्लान ७७ सालमै पास भएको थियो ।

नयाँ भवन बनाउनु पर्छ भन्ने माग बोकेर सत्यमोहन जोशीसहित ६० जना विद्वान, अभियन्ताहरुले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका पनि थिए । ओली राष्ट्रिय पुस्तकालय बनाउने योजनामा सकारात्मक भए । तर जब भवन बनाउने नै बेला भयो, अज्ञात, अप्रत्याशित चलखेल हुन थाल्यो । पुस्कालय बनाउन नपर्ने कुनै कारण थिएन । कुनै कारण अहिलेसम्म जानकारीमा पनि छैन । तर मन्त्रीपरिषदबाटै केपी शर्मा ओलीले एउटा निर्णय गरेर भवन बनाउने काम रोक्न आदेश दिए ।

जमलको जमिन टुँडिखेल वृहद योजनाका कारण भवन बनाउन नखोजिएको दावी पनि भयो । तर टुँडीखेल वृहद योजनाभित्र रानीपोखरीसम्मको क्षेत्रलाई मात्रै टुँडीखेल बृहद योजनामा समेटिएको छ ।

ओली सरकार भूमाफियाको चंगुलमा फसेको भनेर निकै आलोचना हुने गथ्र्यो । जमलको जमिनमा पनि भूमाफियाको आँखा बलेको भनेर चर्चा भइरहेको छ । तर कसले कहाँबाट कुन स्वार्थले भवन बनाउन रोक लगाएको थियो, अज्ञात नै छ । त्यही कारण अहिलेसम्म पनि डेढ लाखभन्दा बढी पुस्तकहरु गोदाममा थन्किएका छन् । डेढ लाखभन्दा बढी पुस्तक भएको राष्ट्रिय प्रयोगशालामा पहिले पहिले विदेशी अनुसन्धानकर्मीहरु पनि आइपुग्थे ।

पंन्डीत हेमराज पाण्डेसँग भएका पुराना संस्कृतका पत्रे किताबसमेत यो पुस्तकालयमा छन् । जर्मनीका केही विश्वविद्यालयका विद्यार्थी, अनुसन्धानकर्मीहरुको ध्यान संस्कृत भाषामा थियो । उनीहरु संस्कृतको अनुसन्धान गर्न नेपालसम्म आउँथे । संस्कृत भाषा बाहेक अन्य भाषाका पनि कैयन पुस्तकहरु पुस्तकालयमा छन् ।

केही पुस्तकहरु त २ सय वर्ष पुराना पनि छन् भन्ने गरिन्छ । डेढ सय वर्ष पुराना पुस्तकको संख्या त धेरै नै छ । एक पटक नष्ट भयो भने फेरि संकलन गर्न असम्भव हुने पुस्तकहरुबाट भरिएको पुस्तकालयलाई नयाँ जीवन दिन सरकार आफै सुस्त देखिएको छ ।

अहिले भक्तपुरको सानोठिमीमा अस्थायी पुस्तकालय बनाएर पुस्तकहरुको संरक्षण तथा व्यवस्थापनको प्रयास भईरहेको छ । अस्थायी रुपमा निर्माण गरिएको यो पुस्तकालय कति समय चल्छ भन्न सकिन्न । तर प्रश्न पुस्तकालय भवन निर्माणको हो ।

प्रत्येक देशमा आफ्नो राष्ट्रिय पुस्तकालय हुने गर्छ । देशभित्र प्रकाशित हुने सबै पुस्तकहरुको दुई प्रति राष्ट्रिय पुस्तकालयलाई निःशुल्क उपलब्ध गराइन्छ । त्यस्ता पुस्तकहरु पुस्तकालयले सधैका लागि संरक्षण गरेर राखिदिन्छ ।

राष्ट्रिय पुस्तकालय देशको सभ्यता, सान, मान र प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ । तर नेपालमा भने भूकम्पले क्षती पुर्याएका सबै संरचनाहरु लगभग पुननिर्माण भईसक्दा पुस्तकालय किन सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।