देश

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड, विद्यार्थीद्वारा बञ्चरो प्रहार गरेको आरोप


काठमाडौँ – मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहको गाडीमा तोडफोड भएको छ । केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा.डा. सिंहको पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन् ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताए । उनका अनुसार विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रमको बेलामा ढुङ्गामुढा गर्नुका साथै निवासमा पार्किङ गरी राखिएको अवस्थामा साँझ बञ्चरो प्रहार गरिएको बताइएको छ । तर विद्यार्थीले भने आफूहरुले बञ्चरो प्रहार नगरेको दावी गरेका छन् ।

सोही क्रममा विद्यार्थी र प्रहरीबीच झडपमा पनि भएको छ । झडपमा परी मध्यपश्चिम विश्वविद्यालय अखिल (क्रान्तिकारी) का संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायतका घाइते भएका छन् । विश्वविद्यालयमा चार विद्यार्थी सङ्गठन अनलाइन माध्यमबाट परीक्षा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति कोटा बढाउनुपर्ने, विश्वविद्यालयका पदाधिकारीद्वारा यसअघि सार्वजनिक अभिव्यक्तिमाथि छानबिन हुनुपर्ने, तत्काल स्ववियु निर्वाचनको मिति तोकिनु पर्नेलगायतका माग राखेर आन्दोलित छन् ।विद्यार्थीहरु केही दिन यता रिले अनशनमा छन् ।

विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई लक्ष्य गरी गाडीमा बञ्चरो प्रहार गर्ने अराजक समूहलाई कारबाही गर्न माग गरेको छ । त्यस्तै विद्यार्थी सङ्गठनले पनि आन्दोलनमा दमन गर्ने विश्वविद्यालय पदाधिकारीलाई कारबाहीको माग राखेका छन् ।