राजनीति

सांसद पद गुमाएका जसपाका ३ नेताको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)बाट निष्कासित गरेका लुम्बिनी प्रदेशसभाका तीन पूर्वसांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पार्टीले निष्कासन गरेपछि सांसद पद गुमाएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्च अदालत गएका थिए । तर सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुको माग अनुसार सांसद पद थमौतीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ भने अन्तरिम आदेशका लागि छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले उनीहरुलाई कारबाही गरेको थियो । यसअघि पनि जनता समाजवादी पार्टीले उनीहरुलाई निष्कासन गरे पनि सर्वोच्च अदालतले तत्काल सांसद पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनीहरुको सांसद पद कायम रहेको थियो ।