राजनीति

राष्ट्रियसभा : सरकारी कार्यालयको कोठा कोठामा सीसी क्यामेरा राखौँ (भिडियोसहित)


काठमाडौँ – राष्ट्रिय सभाको आजको बैठकमा मन्त्रीपरिषद् विस्तार देखि सरकारी कार्यालयमा सीसी क्यामेरा राख्नु पर्ने सम्मका माग उठेका छन् ।

प्रतिपक्ष दल नेकपा (एमाले) ले आफ्नो पार्टी फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न खोजेको आरोप लगायो भने, केहि सांसदले सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्न सक्ने गरी सीसीक्यामेरा राख्न माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भिर आरोप लगाएको छ । आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद डा. विमला राइ पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रीपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको दावी गरिन । सांसद पौडेलले राजनीतिक संयन्त्र बनाउने हल्ला चलिरहेको भन्दै त्यसको बन्धक नबन्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गरिन ।

त्यस्तै, राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्न सक्ने गरी सीसीक्यामेरा राख्न माग गरेका छन् । डा. देवकोटाले संघीयदेखि स्थानीय तहसम्मका हरेक सरकारी निकायबाट हुने कामकारबाही र गतिविधि जनताले थाहा पाउने गरी सीसीक्यामेरा राख्न सरकारलाई सुझाव दिए । शासनसत्ता फेरिए पनि जनताले अपेक्षा गरे अनुसार सेवा प्रवाह फेरिन नसकेको बताउँदै उनले शासन व्यवस्था परिवर्तन भए पनि जनताले अपेक्षा गरेअनुसारको सेवा नपाएको गुनासो गरे ।

त्यस्तै, राष्ट्रियसभाकी सदस्य नन्दा चपाईले सुर्खेतमा प्रसुती गृह अस्पतालको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिन । बैठकमा बोल्दै उनले अकालमा दूर्गम क्षेत्रका धेरै गर्भवतीहरुले ज्यान गुमाउनु परेको भन्दै सुर्खेतमा तत्काल प्रसुती गृह अस्पतालको निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन । सांसद चपाईले निःशुल्क पाइने औषधिहरुको सूचि आम जनताले थाहा पाउने गरी सार्वजनिक गर्न पनि माग गरिन ।

त्यस्तै, राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले कोरोनाका कारण विथोलिएको शैक्षिक क्षेत्रलाई सहि दिशामा ल्याउन सरकारलाई ध्यानाकर्षण गराईन । देवकोटाले तोकिएका परिक्षाहरु पनि स्थगन हुन थालेको र तेस्रो लहरको समेत सम्भावना भएकाले शैक्षिक क्षेत्र झनै प्रभावित हुने तर्फ सचेत रहन सरकारलाई आग्रह गरिन ।

बैठकमा बोल्दै जितेन्द्र नारायण देवले वर्तमान गठबन्धनले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडी बढाउन सक्ने बताए । वर्तमान पहिचान र संघीयताको निम्ति संघर्ष गर्ने मधेशवादी दल, संविधान सभा र गणतन्त्रको लागि योगदान गर्ने माओवादी र सबै राजनीतिक आन्दोलनहरुको नेतृत्व गर्ने नेपाली कांग्रेसको गठबन्धनले मात्रै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्ने दावी गरे ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा मन्त्रीपरिषद् चाँडो विस्तार गरेर प्राकृतिक विपत्ती र कोरोना महामारी रोकथाम गर्न सरकार समक्ष सांसदहरुले माग गरेका थिए ।