समाचार

‘विद्यार्थीहरुमा पढेपनि पास र नपढेपनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुन्छ’


काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताउनुभएको छ । एसईईको नतिजापश्चात् आइतबार पत्रकारहरु सँगको कुराकानीमा अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताउनुभएको हो । उहाँले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्यांकन हुन नसक्ने बताउनुभयो ।

विद्यार्थीहरुमा पनि पढेपनि पास र नपढेपनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उहाँले बताउनुभयो । उहाँले परीक्षा बोर्डले को कस्तो विद्यार्थी भनेर नचिनेको २ वर्ष भइसकेको टिप्पणी गर्नुभयो । त्यसैगरी उहाँले कक्षा १२ को परीक्षा बोर्डले गर्न चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको बताउनुभयो ।

अध्यक्ष पौडेलले देशैभरि परीक्षा संचालन हुने केन्दहरुमा स्वास्थ्य सावधानी र थप मापदण्ड बनाएर परीक्षा संचालन गर्न सकिने विश्वाश ब्यक्त गर्नुभयो ।