विदेश

अफगानिस्तानको दोस्रो प्रान्तीय राजधानी पनि तालिवान बिद्रोहीको कब्जामा


काठमाडौँ – अफगानिस्तानको दोस्रो प्रान्तीय राजधानी पनि तालिवान बिद्रोहीले कब्जामा लिएको छ । अफगानिस्तानमा निरन्तर आफ्नो प्रभाव बढाउँदै लगेको तालिवानले प्रान्तीय राजधानीमा नियन्त्रण कायम गर्ने क्रम जारी राखेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान शहर आफ्नो नियन्त्रणमा आएको तालिबानले बताएको छ । तर, अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिवान लडाकुलाई हटाउने बताएका छन् । यसअघि शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जा लिएको थियो ।

ग्रामीण क्षेत्रमा प्रभाव रहेको तालिवानले शहरी क्षेत्रलाई पनि निशाना बनाइरहेको छ । पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लश्कर गाहसहितका प्रमुख शहरहरु पनि तालिवानको निरन्तर दबाबमा छन् । ती क्षेत्रमा सरकारी सुरक्षा बललाई नियन्त्रण कायम गरिरहन गाह्रो परिरहेको बताइएको छ ।