अर्थनीति

के तपाईं सेयर किन्न चाहनुहुन्छ ? दोस्रो बजारमा कसरी हुन्छ कारोबार ? (भिडियोसहित)

यस्तो छ दोस्रो बजारमा प्रवेशको प्रक्रिया


काठमाडौँ – सेयर बजारमा दुईवटा बजार हुन्छन्– प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक भनेको आवेदन दिएर सेयर किन्ने हो । कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी साधारण सेयर (आईपीओ) किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो ।

दोस्रो बजारमा भने सिधै प्रवेश गरेर सेयर कारोबार गर्न सकिन्छ । दोस्रो बजारमा सेयर कारोबारका लागि लगानीकर्ताले धितोपत्र ब्रोकरकहाँ जानुपर्छ । लगानीकर्ताको आदेशबमोजिम सेयरको खरिद र बिक्री गरिदिनका लागि धितोपत्र बोर्डबाट अनुमतिप्राप्त कम्पनीलाई स्टक ब्रोकर भनिन्छ ।

नेपालमा नेपाल स्टक एक्सचेञ्ज एकमात्र दोस्रो बजार हो । दोस्रो बजारमा सेयर खरिदबिक्री ब्रोकरको मध्यस्थतामा लगानीकर्ताबीच हुने भएकोले सेयर किनबेचमा कम्पनीसँग कुनै सम्बन्ध रहन्न । कानुनत दुई लगानीकर्ता आफैं बसेर एक अर्काबीचको समझदारीमा सेयरको किनबेच सम्भब नहुने भएकाले सेयरको किनबेच गर्दा धितोपत्र बोर्डबाट इजाजत प्राप्त ब्रोकर कम्पनीहरुमा गई उचित प्रक्रिया पूरा गरी खरिदबिक्री आदेश दिनुपर्दछ । यसै आदेशअनुसार ब्रोकरले सेयर किनबेच गरिदिने काम गर्छ ।

अहिले सार्वजनिक स्थल, घर, कार्यालय जहाँतहीँ सेयर बजारकै चर्चा छ, त्यसमा पनि आईपीओको चर्चा अझ बढी सुनिन्छ । नयाँ लगानीकर्ता बजार प्रवेश गरिरहेका छन् । कतिपय बुझेर त कतिपय लहैलहैमा लगानी गर्ने पनि छन् । अहिलेको अवस्था सेयर बजार प्रवेशको सही अवस्था हो वा होइन, बजार प्रवेश गर्दा केके कुरामा ध्यान दिने, लगानीको सुरक्षित क्षेत्र कुन हो भनेर हामीले सेयरका जानकार तथा स्टक ब्रोकर एसोसीएसनका पूर्वअध्यक्ष भरत रानाभाटसँग कुराकानी :