समाज

उदयपुरमा स्थानीय र प्रहरीबीच झडपमा ६ राउण्ड हवाइ फायर


काठमाडौँ – उदयपुरको बेलका नगरपालिका परिसर क्षेत्रमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ । झडप हुँदा ४ जना प्रहरी सामान्य घाइते भएका छन् । प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

यो बुधबारको घटना हो । जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत बन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया शुरु हुँदा सो जग्गामा बसोवास गर्दै आएका जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको थियो ।

सो सरकारी जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका जनताले जग्गाको लापूर्जा आफूहरुले पाउनुपर्ने भन्दै नगरपालिकाको कार्यालय घेराउ गरेपछि उनीहरुलाई हटाउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो ।

नगरपालिका घेरेर आन्दोलन गरेका आन्दोलनकारीलाई सम्झाइबुझाई हट्न भनेको र जबरजस्ती गरेपछि सामान्य बल प्रयोग गर्नु परेको प्रहरीले बताएको छ । दुई पक्षीय झडपमा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी चार प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

आन्दोलनकारीमध्येका एक रामकुमार भुजेलले आफूहरु लामो समयदेखि सुकुम्बासी भएर उक्त जग्गामा बसोबास गर्दै आएको र उक्त जग्गालाई नगरपालिकाले नेपाल सरकारलाई कबुलिय वन बनाउन सिफारिस गरेपछि आफूहरुको उठिबास हुन पर्ने भएकाले नगरपालिकामा मागहरु राख्न गएको बताउनुभयो । नगरपालिकाले भने सो जग्गा पहिलेदेखि नै सरकारी रहेको र मन्त्रिपरिषद्ले नै कबुलियत बन बनाउने निर्णयसहित कार्य अगाडि बढाएको जनाएको छ।

घट्ना लगत्तै अवस्था समान्य बनाउन स्थानीय राजनीतिक दलका नेता र आन्दोलनकारीका अगुवा संयुक्तरुपमा छलफल र बार्तामा जुटेको प्रहरीले बताएको छ।c