समाचार

तनहुँको बन्दीपुरमा पहिरोले पाँच घर पुर्‍यो, दुई जनाको मृत्यु


सांकेतिक : तस्वीर

काठमाडौँ – तनहुँको बन्दीपुर ३ तामुङ गाउँमा पहिरोले पुर्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घर माथिबाट झरेको पहिरोले पाँच घर पुरेको छ । उक्त पहिरोमा परी दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा करिब ७० वर्षीया हरिमाया बसेल र करिब ३० वर्षीया सरस्वती थापा रहेका छन् । गएराती खसेको पहिरोमा बेपत्ता भएका उनीहरुको शव भेटिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।

पहिरोका कारण घर पुरिएपछि स्थानीय बिस्थापित भएका छन् । उद्धारको प्रयास भैरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यसैगरी पृथ्वी राजमार्गको छिर्कनेमा धेरै ठाउँमा एकै साथ पहिरो खसे पछि सवारी आवागमन बन्द भएको छ । खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिएका छन ।