समाचार

आजबाट खुल्यो आन्तरिक उडान


काठमाडौँ – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान आज (बिहीबार) देखि सुरू भएको छ ।
त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले हिजै (बुधबार) चारवटा वायुसेवाको उडान तालिका स्वीकृत गरिसकेको छ ।

प्राधिकरणका अनुसार जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरिएको हो । उडान बिहान साढे ६ बजेदेखि साँझ ६ बजेसम्म हुनेछन् ।

प्राधिकरण उडान अनुमति शाखाका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान गर्न अनुमति दिइएको हो ।

पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौँबाट धनगढी, नेपालगन्‍ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् ।