Uncategorized

अष्ट्रेलियामा लकडाउन थपियो


काठमाडौँ – अष्ट्रेलियामा आगामी अगस्ट २८ तारिखसम्म बृहत् सिड्नीलगायतका वलङगङ र ब्लु माउन्टेन्स शहरमा जारी लकडाउन लम्ब्याइएको छ । न्यु साउथ पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्र रूपमा बढिरहेको भन्दै विभिन्न राज्य सरकारले लगाएका लकडाउन अवधि लम्ब्याएका हुन्।

मङ्गलबार बेलुका आठ बजेसम्मको गणना अनुसार यो क्षेत्रमा थप १७७ जना कोभिड–१९ बाट संक्रमित फेला परेको भन्दै समुदायमा थप फैलन नदिन जारी लकडाउन लम्ब्याइएको बेरिजिक्लियनले बताइन्। प्रिमियर बेरिजिक्लियनका अनुसार संक्रमित भएका १७७ जना म‌ध्ये ४६ जना समुदायमा सक्रिय थिए। राज्यमा डेल्टा प्रकोप सुरू भए यता सार्वजनिक गरिएको सङ्क्रमित सङ्ख्या सबैभन्दा धेरै हो।

यसका साथै न्युसाउथ वेल्समा थप एक जनाले कोरोनाभाइरसका कारण आफ्नो ज्यान गुमाएका छन्। यो सँगै राज्यमा हालसम्म पछिल्लो प्रकोपका कारण ११ जनाको मृत्यु भइसकेको छ। लकडाउन लागू भएका क्षेत्रका मानिसहरू किनमेलका लागि आफू बसेको ठाउँबाट १० किलोमिटरभन्दा पर जान पाउने छैनन् र यस्ता खरिददारी कार्य केवल अत्यावश्यक वस्तुका लागि मात्र हुनुपर्ने पनि उनले बताएकी छिन्।

फेयरफिल्ड काउन्सिल क्षेत्रमा बसोबास गर्ने र वृद्ध स्याहार एवं स्वास्थ्य सेवामा कार्यरत मानिस र क्यान्टबरी–ब्याङ्क्सटाउन इलाकामा बसोबास गर्ने अत्यावश्यक कर्मचारीहरूले मात्र अब हरेक तीन–तीन दिनमा कोरोनाभाइरसको परीक्षण गराउनुपर्ने भएको छ।
अहिलेलाई लकडाउनमा रहेका प्रमुख आठ काउन्सिल क्षेत्र बाहेकका मानिसहरू हाल बसोबास नगर्ने घर तथा भवन निर्माण कार्य पनि पुनः सञ्चालन गर्न पाइने पनि सरकारी भनाइ छ।
यस्तै मेलवर्न क्षेत्रमा पछिल्लो २४ घण्टामा थप आठ सामुदायिक सङ्क्रमण केसहरू पुष्टि भएका छन् । भिक्टोरियाली स्वास्थ्य मन्त्री मार्टिन फोलीका अनुसार बुधवार घोषणा गरिएका सबै सङ्क्रमित मानिसहरू आइसोलेसनमा नै रहेका थिए।