राजनीति

अनसनमा बसेका नेता कार्यकर्ताको माग तत्काल सम्बोधन गर्न देउवाले दिए निर्देशन


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनसन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाई गर्न सदस्यता छानवीन समितिलाई निर्देशन दिनु भएको छ ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले धाँधलीरहित ढंगले पार्टीको क्रियाशील सदस्यता छानवीन गर्न दवाव दिँदैै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिँदै आएका नेता, कार्यकर्ताहरुको माग सुुनुवाई गरी भोलि बिहान बस्ने पदाधिकारी बैठकमा पेश गर्न छानवीन समितिलाई सचेत गराउनु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

क्रियाशील सदस्यता छानवीन समितिको प्रतिवेदन समेत नआएकाले सो सम्बन्धि मिति तय गर्ने विषयमा पनि भोली बोलाइएको पदाधिकारी बैठकमा छलफल हुने निर्णय गरिएको प्रवक्ता शर्माले बताउनु भयो ।

बैठकमा केन्द्रिय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानवीन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन सुरु गर्न सकिने भएकाले त्यसको मिति सार्न पदाधिकारी बैठकमा प्रस्ताव राख्नु भएको थियो ।