समाचार

विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु



काठमाडौँ –बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर अवस्थामा पुगेकाछन् ।

जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ। सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए।

मदिरा सेवनपछि बिरामी परेका उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ। मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।